
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज चालु आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
बजेटसम्बन्धी निर्णय गर्न दिउँसो १ः३० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तयारी छ। त्यसपछि दिउँसो २ बजे प्रदेशसभामा बजेट प्रस्तुत गरिने सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिए।
‘आज दिउँसो २ बजे पक्का बजेट आउँछ,’ मन्त्री रावलले भने।
अघिल्लो सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि चालु आर्थिक वर्ष सुरु भएदेखि नै प्रदेशमा बजेट शून्यताको अवस्था छ। बजेट अभावका कारण प्रदेश सरकारका नियमित कामकाज, विकास निर्माण तथा सेवा प्रवाह प्रभावित हुँदै आएका छन्। पछिल्लो समय स्वास्थ्य संस्थाहरूमा औषधिको अभावसमेत हुन थालेको छ।
बजेट ल्याउने विषयमा सरकारभित्रै देखिएको अन्योल र विवादका कारण प्रदेशसभा बैठक पटक–पटक प्रभावित हुँदै आएको थियो। आज बजेट प्रस्तुत भएसँगै लामो समयदेखि कायम बजेट शून्यताको अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित