ओलीको कार्यशैलीले एमालेभित्र विद्रोह हुँदैछ : प्रचण्ड

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका संयोजक **पुष्पकमल दाहाल प्रचण्ड**ले देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउँदै उनले २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाइएको स्मरण गरे। तर नेतृत्वको गलत सोच र कार्यशैलीका कारण उक्त एकता टिकाउन नसकिएको उनको भनाइ थियो।

उनले भने, “नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने उद्देश्यले ७४ मा एमाले र माओवादी केन्द्रलाई मिलाएर नेपाल कम्युनिस्ट पार्टी बनाएका थियौँ। दुर्भाग्यवश त्यसलाई बचाउन सकेनौँ। तर हाम्रो उद्देश्य सही थियो, भावना र विचार जायज थियो।”

प्रचण्डले जेनजी आन्दोलनपछि उत्पन्न भएको विषम परिस्थितिले फेरि वामपन्थी, देशभक्त, समाजवादी र कम्युनिस्टहरूलाई एकताबद्ध हुनुपर्ने आवश्यकता झनै बढाएको बताए।

उनका अनुसार एमालेका पूर्वमन्त्री र सांसद भइसकेका नेताहरू समेत नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरिसकेका छन्। “अहिले जे भए पनि नेपाल कम्युनिस्ट पार्टी बनेपछि नयाँ प्रकारको ध्रुवीकरण सुरु भएको छ। केही समयभित्र सबै वामपन्थी कम्युनिस्टहरू फेरि एकै ठाउँमा हुनेछन्,” उनले भने।

उनले एमाले अध्यक्ष **केपी शर्मा ओली**को गलत सोच र कार्यशैलीका कारण एमालेभित्र विद्रोह गर्नेहरूको संख्या बढ्दै गएको दाबी गरे। साथै, एमालेभित्रकै नेताहरूले फेरि एकताको झण्डा उठाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

आगामी निर्वाचनको सन्दर्भमा बोल्दै प्रचण्डले पार्टीको प्रगति दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै नेपाल कम्युनिस्ट पार्टी पहिलो वा कम्तीमा पनि प्रतिस्पर्धी शक्ति बन्ने सम्भावना रहेको बताए। उनले आउने सरकारमा पार्टीको भूमिका महत्त्वपूर्ण हुने संकेतसमेत गरे।

प्रतिक्रिया

ताजा समाचार