
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारमाथि एक महिलालाई विवाहको प्रलोभन देखाएर अश्लील भिडियो बनाएको, धम्की दिएको र पैसा मागेको आरोप सार्वजनिक भएको छ।
जनआस्था साप्ताहिकले सार्वजनिक गरेको समाचारअनुसार, महिलासँगको भनिएको चारवटा अडियो संवादमा सुनारले अश्लील गालीगलौज गर्दै पैसा मागेको र ज्यान मार्ने धम्की दिएको सुनिन्छ। ती संवादमा महिलाले आफ्नो अश्लील भिडियो बनाइएको र आफूलाई निरन्तर मानसिक यातना दिइएको गुनासो गरेको समाचारमा उल्लेख छ।
समाचारमा सुनारको बैंक खातामा विभिन्न देशबाट रकम आएको र कारोबारको स्रोतबारे प्रश्न उठाइएको पनि जनाइएको छ। यद्यपि, रकम कुन प्रयोजनका लागि आएको हो भन्ने स्पष्ट नभएको समाचारमा उल्लेख छ।
यसैबीच, रास्वपाले सांसद सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा महिलाको मर्यादामा आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की तथा शङ्कास्पद आर्थिक कारोबारसम्बन्धी विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
पार्टीको केन्द्रीय अनुशासन आयोगलाई छानबिन अघि बढाउन निर्देशन दिइएको र छानबिन निष्कर्षमा नपुगेसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको छ।
रास्वपाले सम्बन्धित सरकारी निकायबाट निष्पक्ष अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पूर्ण सहयोग गर्ने जनाएको छ। अनुसन्धानको निष्कर्षका आधारमा कानुन र पार्टी विधानअनुसार थप कदम चालिने विज्ञप्तिमा उल्लेख छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित