सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि पार्टीको केन्द्रीय अनुशासन आयोगले आन्तरिक छानबिन सुरु गरेको छ। एक महिलासँगको अश्लील तथा आपत्तिजनक अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सुनारमाथि लागेका आरोपबारे आयोगले अनुसन्धान अघि बढाएको हो।

रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले प्रारम्भिक छानबिन सुरु भइसकेको जानकारी दिँदै घटनालाई अति संवेदनशील रूपमा लिइएको बताएका छन्।

उनका अनुसार सांसद सुनारसँग सम्बन्धित विषयमा विभिन्न आरोप सार्वजनिक भएका छन्। आम नागरिकको समेत चासो रहेकाले पार्टीले यसलाई गम्भीरतापूर्वक लिएको उनले बताए।

छानबिनका क्रममा सांसद सुनारको प्रतिक्रिया पनि लिइने भट्टराईले जानकारी दिए। आयोगले पार्टीको विधान, नियमावली र आचारसंहिताका आधारमा अनुसन्धान अघि बढाउने उनको भनाइ छ।

सुनार अनुसन्धानका लागि कति छिटो सम्पर्कमा आउँछन् भन्ने कुराले पनि निष्कर्षमा पुग्ने समय निर्धारण गर्ने भट्टराईले बताए। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आयोगले रातदिन नभनी अनुसन्धान गर्ने उनको भनाइ छ।

यसअघि रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै सांसद सुनारमाथि लागेका आरोप गम्भीर र संवेदनशील रहेको बताएका थिए। उनले सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार