
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति **रवि लामिछाने**ले आगामी निर्वाचनमा झापा ५ ले नयाँ इतिहास लेख्ने दाबी गरेका छन्। उनले पार्टीका उम्मेदवार **बालेन्द्र शाह**लाई जिताएर झापा–५ ले देशलाई न्याय गर्ने विश्वास व्यक्त गरे।
छोटो सम्बोधनमा लामिछानेले देश निर्णायक मोडमा उभिएको उल्लेख गर्दै जनताको जागरणले नै देश जोगिँदै आएको बताए। “यो देश इतिहासकै सबैभन्दा महत्त्वपूर्ण मोडमा आइपुगेको छ। जब–जब जनता जागे, तब–तब देश बचेको छ,” उनले भने, “बाआमाहरूले बाटो–बाटोमा रोकेर ‘बाबु, यो देश बचाऊ’ भन्नुहुन्छ। म झापा–५ मा उभिएर भन्न चाहन्छु—यो देश बच्छ पनि र बन्छ पनि।”
उनले झापा–५ बाट संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित हुने सम्भावना रहेको दाबीसमेत गरे। “यहाँबाट निर्वाचित हुने उम्मेदवारलाई राष्ट्रिय पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ,” उनले भने, “पार्टी सभापतिका रूपमा मलाई गर्व छ। सम्भवतः यसै क्षेत्रबाट निर्वाचित भएर बालेन्द्र शाह संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा अगाडि बढ्नुहुनेछ।”
रास्वपाले झापा–५ को निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिएको र परिवर्तनको सुरुवात यहीँबाट हुने लामिछानेको भनाइ थियो।



2026 swatantrapath.com सर्वाधिकार सुरक्षित