राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते सिंहदरबारमा हुने

काठमाडौं । राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ फागुन २५ गते हुने भएको छ।

सङ्घीय संसद् सचिवालय का महासचिव पद्म प्रसाद पाण्डेय ले कानून, न्याय तथा मानव अधिकार समितिको हल, सिंहदरबारमा शपथ कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन्।

उनका अनुसार शपथ कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ। नवनिर्वाचित सदस्यहरूले शपथ कार्यक्रममा एक घण्टा अगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोसाकमा उपस्थित हुनुपर्नेछ। साथै, निर्वाचन आयोग बाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको एक–एक प्रति साथमा ल्याउन आग्रह गरिएको छ।

सूचनामा उल्लेख गरिएअनुसार, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा (९) बमोजिम शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रति २०८२ साल फागुन २४ गतेभित्र सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउनुपर्नेछ।

राष्ट्रिय सभाको निर्वाचन गत माघ ११ गते सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार