अस्पताल नबनेको भन्दै ओखलढुंगाको मानेभञ्ज्याङ–७ मा मतदान बहिष्कार

विराटनगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले अस्पताल निर्माण नभएको विरोधमा मतदान बहिष्कार गरेका छन्।

मानेभञ्ज्याङ–७ स्थित सहिद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अहिलेसम्म एक जनाले पनि मतदान नगरेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी  मेख बहादुर मंग्रान्तीले  जानकारी दिएका छन्।

उनका अनुसार उक्त केन्द्रमा कुल ७०१ जना मतदाता रहेका छन्। ‘अहिलेसम्म कोही पनि मतदाता मतदानका लागि आउनुभएको छैन,’ प्रमुख जिल्ला अधिकारी मंग्रान्तीले भने।

स्थानीयका अनुसार मानेभञ्ज्याङ–७ मा करिब आठ वर्षअघि प्रादेशिक अस्पताल निर्माण गर्ने तयारी गरिएको थियो। अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई अन्य प्रक्रिया अघि बढे पनि निर्माण कार्य सुरु नभएकाले स्थानीयले विरोधस्वरूप मतदान बहिष्कार गरेका हुन्।

वडा नम्बर ७ का वडाध्यक्ष विष्णु प्रसाद गौतमले अस्पताल निर्माणको माग गर्दै स्थानीयले मतदान नगरेको बताए। उनका अनुसार अस्पताल निर्माणका लागि १६६ रोपनी जग्गा समेत प्राप्त भइसकेको छ। तर जग्गा प्राप्ति भइसकेपछि पनि अस्पताल निर्माण सुरु नभएकाले स्थानीय मतदाताले मतदानमा सहभागी नभएको उनले बताए।

प्रतिक्रिया

ताजा समाचार