दोलखा मालु अपडेट : मतपत्र ठेली लुट्नेहरूमाथि मुद्दा चल्ने, पुनः मतदानका लागि मिति सिफारिस

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रबाट मतपत्रको ठेली लुटेर भागेका व्यक्तिहरूमाथि मुद्दा चलाउने तयारी गरिएको छ।

बुथ कब्जा गर्ने प्रयासमा मतपत्रको ठेली बोकेर हिँडेका नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ तथा नेकपाका नेता अर्जुन योगीमाथि मुद्दा चलाउने तयारी भएको हो।

यी तीन जनामाथि मुद्दा चलाइने भए पनि नियन्त्रणमा रहेका अन्य चार जनालाई भने सोधपुछपछि छाड्ने तयारी गरिएको छ। तर नेपाली कांग्रेस र नेकपाले भने पक्राउ परेका सबैलाई बिनाशर्त रिहा गर्न माग गरेका छन्।

यसैबीच स्थगित भएको मतदान पुनः सञ्चालन गर्न अर्को मिति तोक्न जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।

कांग्रेस र नेकपाका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाका कार्यकर्ताले विरोध जनाएका थिए। सो क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार