
काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला का दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लामा कुल ३ लाख २६ हजार ६ सय ११ मतदाता रहेकामा १ लाख ९७ हजार ३ सय ४१ मत खसेको छ, जुन ६०.४२ प्रतिशत हो। खसेको मतमध्ये १ लाख ४ हजार ५ सय १२ पुरुष र ९२ हजार ८ सय २९ महिला मतदाता रहेका छन्।
काभ्रे क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार ९ सय मतदाता रहेकामा ९१ हजार १ सय २८ मत खसेको छ, जुन ५६.५७ प्रतिशत हो। यस क्षेत्रमा ४९ हजार ३ सय ८८ पुरुष र ४१ हजार ७ सय ४० महिला मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रको मतगणना महाभारत गाउँपालिका–५ स्थित ग्रामोन्नति माध्यमिक विद्यालय मतदान स्थलबाट सुरु गरिएको छ।
त्यस्तै काभ्रे क्षेत्र नम्बर २ मा १ लाख ६४ हजार ७ सय ११ मतदाता रहेकामा १ लाख ६ हजार २ सय १३ मत खसेको छ, जुन ६४.७१ प्रतिशत हो। यस क्षेत्रमा ५५ हजार १ सय २८ पुरुष र ५१ हजार ८५ महिला मत खसेको छ।
यसैबीच क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदन भण्डारी अग्रस्थानमा रहेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित