
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै किसिमको विजय र्याली नगर्ने निर्णय गरेको छ।
निर्वाचन हुनुको पृष्ठभूमिमा भएको जेनजी आन्दोलन र मध्यपूर्वमा भएका घटनालाई ध्यानमा राख्दै रास्वपाले विजय उत्सव नमनाउने निर्णय गरेको हो।
रास्वपाका उपसभापति डिपी अर्यालले उम्मेदवारहरूलाई भिडियो सन्देश जारी गर्दै अबिरजात्रा तथा विजय र्याली नगर्न निर्देशन दिएका छन्।
उनका अनुसार रवि लामिछाने र बालेन्द्र शाह को निर्देशनअनुसार अहिले विजय उत्सव नगरी जनताले दिएको म्यान्डेटअनुसार काममा केन्द्रित हुन आग्रह गरिएको हो।
‘यसपटकको निर्वाचन आउनुमा हाम्रा साना नानीबाबु तथा जेनजी उमेर समूहका युवाहरूले ज्यान गुमाएको पीडा अझै सेलाएको छैन,’ अर्यालले सन्देशमा भनेका छन्। ‘साथै सबै नेपालीले सुशासन र भ्रष्टाचारको अन्त्य होस् भन्ने अपेक्षा गर्नुभएको छ। त्यसैले अबिरजात्रा गर्ने मुडमा हामी छैनौँ।’
उनले जनताले दिएको मत काम गर्नका लागि म्यान्डेट भएको उल्लेख गर्दै सो जिम्मेवारी पूरा गरेपछि जनताको घरदैलोमा पुगेर धन्यवाद दिने पनि बताएका छन्।
‘यो मत हामीलाई काम गर्न भनेर जनताले दिनुभएको म्यान्डेट हो। त्यो पूरा गरेपछि यहाँहरूसँग घरदैलोमा पुगेर धन्यवाद दिने अवसर अवश्य आउनेछ। सबैभन्दा पहिले हामीले काम गर्नुपर्नेछ,’ अर्यालले भनेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित