
रुपन्देही । रोल्पा निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन तेस्रो पटक विजयी हुँदै ह्याट्रिक गरेका छन्।
पुनले २७ हजार ४ सय ६० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालराम थापाले १० हजार ८ सय ९४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् भने नेकपा (एमाले)का गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३ मत प्राप्त गरेका छन्। नेकपा (माओवादी)का चुडामणि वलीले ३ हजार ७ सय १४ मत प्राप्त गरेका छन्।
यहाँ विप्लव नेतृत्वको माओवादीले उम्मेदवार उठाएपछि पुनलाई चुनौती हुने आकलन गरिए पनि अपेक्षाअनुसार मत विभाजन हुन सकेन।
रोल्पामा कुल १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका थिए। तीमध्ये ६८ हजार ७ सय ७६ मत अर्थात् ४६.३९ प्रतिशत मतदान भएको थियो। जम्मा ६५ हजार ६ सय ३२ मत सदर हुँदा ३ हजार १ सय ४४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँगको चुनावी तालमेलमा पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गरेका थिए।
त्यस्तै, २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनमा पुनले ४२ हजार ८४ मत प्राप्त गर्दै विजयी भएका थिए। त्यसबेला उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अम्मरसिंह पुनले २० हजार ३ सय ३७ मत प्राप्त गरेका थिए।
रोल्पाबाट तेस्रो पटक उम्मेदवार बनेका पुनले पुनः ह्याट्रिक जित हासिल गरेका हुन्। यससँगै लुम्बिनी प्रदेशमा नेकपाको दोस्रो जित दर्ता भएको छ। यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी भएका थिए।
तत्कालीन माओवादीको आधार क्षेत्र मानिने रोल्पा र रुकुममा प्रचण्ड र वर्षमान पुनले आफ्नो पकड कायम राखेका छन्। विप्लव नेतृत्वको माओवादी र जनार्दन शर्मा पक्षका उम्मेदवारहरूले चुनौती दिने प्रयास गरे पनि उल्लेखनीय प्रभाव पार्न सकेनन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित