
विराटनगर । धनकुटा जिल्ला मा नेकपा एमाले का उम्मेदवार राजेन्द्र राई तेस्रो पटक निर्वाचित हुँदै ह्याट्रिक गर्न सफल भएका छन्।
राईले २०७४, २०७९ र २०८२ को प्रतिनिधिसभा निर्वाचनमा लगातार विजयी हुँदै ह्याट्रिक गरेका हुन्।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार राईले १८ हजार २३२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का दिनेश राई ले १४ हजार २५७ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार राईले करिब चार हजार मतान्तरले जित निकाल्दै धनकुटामा एमालेको प्रभाव कायम राखेका छन्।
मतगणनाको सुरुवातदेखि नै अग्रता लिएका राईले बीचमा श्रम संस्कृति पार्टी का उम्मेदवारसँग प्रतिस्पर्धा भए पनि त्यसपछिको अग्रतालाई कायम राख्दै अन्तिम नतिजा आफ्नो पक्षमा पारेका हुन्।
२०७४ सालको निर्वाचनमा राई १० हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए भने २०७९ को निर्वाचनमा पनि करिब १ हजार ४०० मतान्तरले निर्वाचित भएका थिए।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका राई यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय का मन्त्री तथा खानेपानी मन्त्रालय का मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
यसपटकको निर्वाचनमा उनले जिल्लाभित्र कृषि विकास, सडक पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई मुख्य चुनावी एजेन्डा बनाएका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित