सुनसरी–१ मा हर्क साम्पाङ विजयी

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन्। उनले ८ हजार ४९२ मतान्तरले जीत हासिल गरेका हुन्।

साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ ले २७ हजार २४९ मत प्राप्त गरिन्। धरान उपमहानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर साम्पाङ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका थिए।

यसै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार टिका मांगलेन ले ६ हजार ३३१ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराई ले ६ हजार २५८ मत पाएका छन्।

जेन्जी आन्दोलनपछि साम्पाङले आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरेका थिए। पार्टी दर्ता भएको केही महिनामै उक्त पार्टीले प्रत्यक्षतर्फ दुई सिट जित्न सफल भएको छ। सो पार्टीका महासचिव आरेन राई खोटाङबाट विजयी भएका छन्।

त्यस्तै भोजपुरमा ध्रुव राई ले अग्रता लिएका छन्।

जेन्जी आन्दोलनपछि साम्पाङ प्रधानमन्त्री बन्ने उद्देश्यसहित काठमाडौं पुगेका थिए। प्रधानमन्त्री बन्न नसकेपछि उनले पार्टी दर्ता गरेर चुनावी अभियान सुरु गरेका थिए।

यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा उनी धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा विजयी भएका थिए। धरानमा देखिएको खानेपानीको समस्यालाई मुख्य एजेन्डा बनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

उक्त निर्वाचनमा साम्पाङले २० हजार ८२१ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर राई ले १६ हजार ५९ मत पाएका थिए।

प्रतिक्रिया

ताजा समाचार