
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन शाह ले राजनीतिक भेटघाट सुरु गरेका छन्। उनले आज बिहान नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गरेका हुन्।
प्राप्त जानकारीअनुसार आज बिहान करिब साढे ८ बजे शाह प्रचण्डको निवास हात्तिबन पुगेका थिए। शाह र प्रचण्डबीच करिब एक घण्टा कुराकानी भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार निर्वाचनपछि प्रचण्ड र शाहबीच भएको यो तेस्रो भेट हो।
रास्वपा स्रोतका अनुसार सरकार गठनको तयारीसँगै शाहले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट सुरु गरेका हुन्। उनले अन्य दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रास्वपाले प्रत्यक्षतर्फ १२५ सिटमा विजय हासिल गरेको छ। समानुपातिकतर्फको मतगणना पनि सकिएको भए पनि ११० सिटका लागि प्राप्त मतअनुसारको सिट बाँडफाँड भने अझै भइसकेको छैन।
सम्भवतः आगामी चैत महिनाको पहिलो साताको अन्त्यतिर शाह प्रधानमन्त्री बन्ने सम्भावना रहेको चर्चा छ। रास्वपाले झण्डै दुईतिहाइ बहुमत प्राप्त गर्ने सम्भावना रहेको बताइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित