नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ मा गर्ने तयारी

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते गराउने तयारी गरिएको छ।

समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई निर्वाचन आयोगले बिहीबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ। सोही दिन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने र संघीय संसद् सचिवालयलाई समेत जानकारी गराउनेछ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन आयोगबाट औपचारिक जानकारी प्राप्त भएपछि शपथका लागि मिति सार्वजनिक गरिनेछ। यससम्बन्धी विषयमा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफलसमेत भइरहेको छ।

उनका अनुसार आयोगबाट चैत ५ गते प्रतिवेदन प्राप्त भएमा भोलिपल्ट शपथसम्बन्धी सूचना सार्वजनिक गर्ने तयारी छ। शपथ कार्यक्रम चैत १२ गते गर्ने लक्ष्य राखिएको उनले बताए।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा उदाएका छन्। रास्वपा ६२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो स्थानमा छ। एमाले ३५ सिटसहित तेस्रो र नेकपा माओवादी केन्द्र १७ सिटसहित चौथो स्थानमा रहेका छन्।

त्यस्तै श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं र राप्रपा ५ सिटसहित छैटौं दलका रूपमा रहेका छन्। एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।

प्रतिक्रिया

ताजा समाचार