रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी-फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई सम्बोधन गर्दै दिएको मन्तव्यको प्रशंसा गरेका छन्।

लामिछानेको अभिव्यक्तिले ‘फलेको हाँगो निहुरिन्छ’ भन्ने लोकोक्ति झल्किएको भट्टराईले टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

भट्टराईले लेखेका छन्, “हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सबैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ। यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन्। पहिलो, ‘फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ’ भन्ने हाम्रो लोकोक्ति राम्रोसँग झल्किएको छ। त्यो कायम रहोस्।”

रास्वपाले पाएको जनमत कुनै एक पार्टी वा व्यक्तिको मात्रै नभई समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश भएको उनले बताएका छन्।

“त्यसका लागि पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नुभन्दा उनीहरूले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै, प्राप्त उपलब्धिको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नुपर्छ भन्ने कुरा ज्यादै अर्थपूर्ण छ,” भट्टराईले उल्लेख गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार