कांग्रेस विवाद चर्किँदै, पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किँदै गएको छ। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहँदा शेरबहादुर देउवा–शेखर कोइराला समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ।

नेता मीनबहादुर विश्वकर्माका अनुसार आइतबार बिहान नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टी कार्यसम्पादन समितिको बैठक बसेको थियो। उनले भने, “पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ।”

बैठकको मिति र समय खड्काले नेताहरूसँग परामर्श गरी तय गर्ने जनाइएको छ।

विश्वकर्माका अनुसार आगामी बैठकमा कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई बोलाइने छैन । यसअघि खड्काकै अध्यक्षतामा बसेको बैठकले उनीहरूलाई कारबाही गरेको थियो।

देउवा–कोइराला समूहले पार्टीको विशेष महाधिवेशनविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा विचाराधीन रहेकाले अन्तिम फैसला नआउन्जेल पार्टीभित्रका गतिविधि जारी रहने उनीहरूको भनाइ छ।

आजको बैठकमा पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार र बद्री पाण्डेलगायत नेता सहभागी थिए।

प्रतिक्रिया

ताजा समाचार