प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सँग आज बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास पाएको भन्दै बधाई ज्ञापन गर्नुभयो।

उहाँले भन्नुभयो, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यस सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई तथा धन्यवाद दिन चाहन्छु।”

उहाँले थप्नुभयो, “यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पाएको हो। विगतका निर्वाचनहरूभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ। सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचन सम्पन्न गर्दै देशलाई लोकतान्त्रिक निकास दिनु ठूलो उपलब्धि हो। यसका लागि तपाईंप्रति हाम्रो उच्च सम्मान छ। तपाईंको योगदान देशले सधैँ सम्झिनेछ, हामी पनि सम्झिरहनेछौँ। आगामी दिनमा पनि तपाईंको मार्गदर्शन र अभिभावकीय भूमिका आवश्यक रहनेछ।”

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा हासिल गरेको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुन नदिने गरी काम गर्न सुझाव दिनुभयो।

उहाँले भन्नुभयो, “अहिले देश कठिन अवस्थामा छ। युवाप्रति देशवासीको ठूलो अपेक्षा छ। तपाईंहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ। चुनौती धेरै छन्, तर सम्हालिएर अघि बढ्नुपर्छ। इमान्दारीका साथ काम गरे अपेक्षित नतिजा अवश्य प्राप्त हुन्छ। विरोध र आलोचनालाई काममार्फत जवाफ दिनुपर्छ।”

भेटमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो।

सभापति लामिछानेले वर्तमान सरकारले गरेका निर्णयहरूमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “सरकार भनेको सरकार नै हो। अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ। यस सरकारले गरेका निर्णयहरूमा हाम्रो कुनै आपत्ति छैन। अझ ऐतिहासिक जिम्मेवारी पूरा गरेको सरकारप्रति हाम्रो उच्च सम्मान छ। त्यसैले सरकारका कदममा साथ दिनेछौँ र निर्णयहरूलाई शिरोधार्य गर्नेछौँ।”

उहाँले अर्को सरकार गठन नहुँदासम्म गर्न सकिने कामहरू पूर्ण क्षमताका साथ अघि बढाउन पनि सुझाव दिनुभयो।

यसै क्रममा उहाँले पोर्चुगलमा रहेका नेपाली विद्यार्थीका समस्या, मध्यपूर्वमा बढ्दो तनावका कारण नेपाली श्रमिकको सुरक्षा, तथा पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी विषयमा चासो व्यक्त गर्दै यस्ता विषयमा उचित कदम चाल्न आग्रह गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार