
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापा ले प्रतिनिधिसभा निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।
चैत ६ देखि ८ गतेसम्म उपसभापति विश्वप्रकाश शर्मा को अध्यक्षतामा सम्पन्न बैठकले थापाको राजीनामा अस्वीकार गर्ने निष्कर्ष निकालेको हो।
बैठकमा ८८ जना सदस्य तथा पदाधिकारीले धारणा राखेका थिए। बैठकले वर्तमान परिस्थितिमा पार्टीभित्र स्थिरता कायम राख्न तथा थापाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको छ।
बैठकले निर्वाचन पराजयका कारण व्यक्तिगत नभई संरचनागत र परिस्थितिजन्य रहेको ठहर गरेको छ। साथै, राजीनामा स्वीकृत गर्दा पार्टीमा अस्थिरता उत्पन्न हुने र कार्यकर्ताको मनोबल घट्ने सम्भावना रहेको उल्लेख गरिएको छ। सामूहिक जिम्मेवारीको सिद्धान्त र नेतृत्वको निरन्तरतालाई प्राथमिकता दिइएको छ।
बैठकले उपसभापति शर्माद्वारा प्रस्तुत २७ बुँदे निर्वाचन परिणामसम्बन्धी प्रारम्भिक समीक्षा प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ। समीक्षा अनुसार गुटबन्दी र आन्तरिक असहयोग, गठबन्धन सरकारप्रति जनअसन्तोष, दीर्घकालीन राजनीतिक अस्थिरता, जेन–जेड युवाको असन्तुष्टि, डिजिटल प्रभाव तथा नयाँ राजनीतिक शक्तिको उदयलाई पराजयका प्रमुख कारणका रूपमा औंल्याइएको छ।
कांग्रेसले अब आफ्नो ध्यान १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय गरेको छ। उक्त महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठन पुनर्संरचना तथा भावी रणनीति तय गरिने जनाएको छ।
बैठकले निर्वाचन परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिँदै पार्टी पुनर्निर्माण र सुदृढीकरणमा जुट्न सबै कार्यकर्तालाई आह्वान गरेको छ। साथै, एकता, अनुशासन र उच्च मनोबल कायम राख्न जोड दिइएको छ।
बैठकले निर्वाचनमा सहभागी उम्मेदवार, कार्यकर्ता, स्वयंसेवक तथा मतदाताप्रति धन्यवाद व्यक्त गर्दै विजयी उम्मेदवारहरूलाई बधाई ज्ञापन गरेको छ।
त्यस्तै, बैठकले मध्यपूर्वमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै विश्वशान्तिको आवश्यकता औंल्याएको छ। युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ। साथै, ईरान मा नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई सकुशल स्वदेश फर्काउन माग गरिएको छ।
यसैगरी, जेन–जेड प्रदर्शनसँग सम्बन्धित कार्की आयोग को छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि बैठकले माग गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित