रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिट, आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

उक्त रिट न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा पेश हुने तय गरिएको छ, जसमा पहिलो नम्बरमै पेशी तोकिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी दाबी हटाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् ।

सो निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासले चार दिनसम्म सुनुवाइ गरेपछि बिहीबार महान्यायाधिवक्ताको अभियोगपत्र संशोधनसम्बन्धी निर्णयलगायत सम्बन्धित फाइल झिकाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार