स्कुल ड्रेसमा शपथ खान पुगे रास्वपा सांसद अन्सारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारी विद्यालयको पोशाक लगाएर सांसदको शपथ खान पुगेका छन्। उनी निलो सर्ट र पाइन्ट तथा पिठ्यूँमा झोला बोकेर संसद भवनमा प्रवेश गर्दा सञ्चारकर्मीहरूले उनलाई घेरेका थिए।

प्रायः सांसदहरू राष्ट्रिय पोशाकमा उपस्थित हुँदा अन्सारी भने फरक सन्देश दिन यस्तो पोशाकमा देखिएका हुन्।

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले ३५ वर्षअघि बुवाले आफूलाई विद्यालय लगेको क्षण सम्झिएको बताए। उनले भने, “३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लैजानुभएको थियो। आज मेरो ७४ वर्षको बुवाले मलाई संघीय संसद भवनमा ल्याउनुभएको छ। यो उहाँका लागि व्यक्तिगत गर्वको विषय हो। साथै, मैले सम्पूर्ण अभिभावकप्रति सम्मान व्यक्त गर्ने अवसर पाएको छु। हाम्रो सफलता र समृद्धि विद्यालयबाट सुरु हुन्छ। आजको यस खुसीको अवसरमा सबैभन्दा ठूलो योगदान बुवा र शिक्षकहरूको हुन्छ भन्ने सन्देश दिन चाहन्छु। मैले बोकेको झोला विद्यार्थीकै झोला हो—ज्ञानको झोला हो।”

रहबर अन्सारी यसअघि नेकपामा आबद्ध थिए र पछि रास्वपामा प्रवेश गरेका हुन्। उनले बारा–२ बाट प्रत्यक्ष निर्वाचनमा विजय हासिल गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार