सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।

संसद् सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो। उक्त अवधिमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।

अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन्।

रास्वपाको एकल करिब दुई तिहाइ बहुमत भएकाले विपक्षी दलहरूले उम्मेदवारी दर्ता गराएनन्।

अब आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले अर्याललाई औपचारिक रूपमा सभामुख निर्वाचित भएको घोषणा गर्नेछ।

उम्मेदवारी दर्तापछि अर्यालले नेपालको संविधान, कानुन र जनताको हितअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, “राष्ट्र र राष्ट्रियताको हितलाई केन्द्रमा राख्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच सन्तुलन कायम गर्दै व्यवस्थापिकाले निर्वाह गर्नुपर्ने भूमिका न्यायसंगत रूपमा पूरा गर्ने मेरो प्रतिबद्धता रहनेछ।”

प्रतिक्रिया

ताजा समाचार