सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुख पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

आज बसेको प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

सभामुख पदका लागि रास्वपाका सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समर्थन गरेका थिए।

समर्थन मन्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले २०४७ सालदेखि हालसम्मका सभामुखहरूको भूमिका स्मरण गर्दै संसदलाई सन्तुलित र प्रभावकारी बनाउन अर्यालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

निर्विरोध निर्वाचित भएका सभामुख अर्याललाई ज्येष्ठ सदस्य केसीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

बैठकमा प्रस्तावक र समर्थकको मन्तव्यपछि केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते सोमबार अपराह्न १:०० बजे बस्नेछ।

प्रतिक्रिया

ताजा समाचार