
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओली बीच आइतबार करिब दुई घण्टाभन्दा लामो भेटवार्ता भएको छ । एमालेमा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको चर्चा चलिरहेका बेला भएको उक्त भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
पत्थरीको शल्यक्रियापछि भक्तपुरको गुण्डुस्थित निवासमा आराम गरिरहेका ओलीलाई भेट्न पुगेकी भण्डारीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । यसअघि पनि ओली अस्पतालमा रहेका बेला भण्डारीले भेट गरेकी थिइन् ।
एमाले राजनीतिमा पुनः सक्रिय हुने संकेत दिँदै आएकी भण्डारी हाल सदस्यता स्थगनको अवस्थामा रहे पनि पार्टीको विकास र विस्तारमा योगदान दिने इच्छा सार्वजनिक गर्दै आएकी छन् ।
पछिल्लो समय एमालेभित्र अध्यक्ष ओलीको नेतृत्वलाई लिएर असन्तुष्टि बढिरहेका बेला केही नेताहरूले पार्टी पुनर्गठनको बहस अघि बढाएका छन् । यही सन्दर्भमा भण्डारीसँग पनि विभिन्न तहमा छलफल भइरहेको बताइएको छ । आइतबारको भेटमा पार्टीभित्र विकसित पछिल्ला गतिविधि, नेताहरूका अभियान तथा संगठनात्मक अवस्थाबारे गम्भीर समीक्षा भएको भण्डारीनिकट स्रोतले जनाएको छ ।
केही समय चिसिएको भनिएको ओली–भण्डारी सम्बन्ध पछिल्लो समय सुधारोन्मुख देखिएको चर्चा पनि एमाले वृत्तमा छ ।
एमालेभित्र ओलीपछि नेतृत्व सम्हाल्न सक्ने विकल्पबारे बहस चलिरहेका बेला केही नेताहरूले अन्तरिम रूपमा भए पनि भण्डारीको नेतृत्वमा पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राख्दै आएका छन् । भण्डारी स्वयं पनि पार्टी नेतृत्वमा आउने इच्छुक रहेको चर्चा छ । तर त्यसका लागि ओलीकै समर्थन र प्रस्ताव निर्णायक हुने बुझाइका कारण उनले ओलीसँगको संवादलाई निरन्तरता दिएको अनुमान गरिएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित