
काठमाडौं । नेपाली कांग्रेस ले प्रधानमन्त्री बालेन शाह लगातार दोस्रोपटक पनि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएको भन्दै बैठक बहिष्कार गरेको छ ।
गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री शाहसँग सुकुम्बासी बस्ती हटाउने अभियान, सुरक्षा प्रशासन तथा अन्य समसामयिक विषयमा जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा उपस्थित नभएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको हो ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका थिए ।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नरहेको टिप्पणी गरे । उनले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखे ।
“सुकुम्बासी बस्ती हटाउनेलगायत विषयमा गृहमन्त्रीको हैसियतमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ । प्रधानमन्त्री आएर जवाफ दिनुहुन्छ भने हामी बैठकमा सहभागी हुन्छौं,” आङ्देम्बेले भने, “प्रधानमन्त्री नआउने अवस्थामा औपचारिक भेटघाटका लागि मात्र बैठकमा उपस्थित हुनुको अर्थ छैन ।”
उनले समिति सभापति हरि ढकाल लाई प्रधानमन्त्री उपस्थित हुने भए जानकारी गराउन आग्रह गरिएको पनि बताए । साथै, प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिए पनि सुनुवाइ नभएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीको अनुपस्थितिका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक लगातार दोस्रोपटक प्रभावित भएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित