
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आजको बैठकमा सहभागी नहुने भएका छन् । नीति तथा कार्यक्रममाथि सांसदहरूले राखेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची भए पनि उनी उपस्थित नहुने भएका हुन् ।
प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
संसद सचिवालयले यसअघि सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभाबाट जवाफ दिने उल्लेख थियो । तर अन्तिम समयमा कार्यसूची परिवर्तन गरी प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्री बनेयता बालेन्द्र शाह अहिलेसम्म प्रतिनिधि सभामा सम्बोधन गरेका छैनन् । संसदीय इतिहासमा प्रधानमन्त्रीले संसदमा नबोलेको यो दुर्लभ अवस्था मानिएको छ ।
सरकारको नीति तथा कार्यक्रम र सांसदहरूले उठाएका प्रश्नका विषयमा अर्थमन्त्री वाग्लेले जवाफ दिने तयारी गरिएको सचिवालयले जनाएको छ । संसद बैठकमा यस विषयलाई लिएर चासो पनि बढेको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित