
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले पराजुलीले न्यायाधीशसम्बन्धी विषय सदनमा उठाएको भन्दै आलोचना गरे । उनले संविधानको धारा १०५ उल्लेख गर्दै महाभियोग लागेको अवस्थाबाहेक न्यायाधीशका विषयमा संसद्मा छलफल गर्न नमिल्ने बताए ।
राईले भने, ‘सत्तारुढ दलका एक वरिष्ठ माननीयले दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काएर न्यायाधीशबारे बोल्नुभयो । यो अनैतिक, अराजनीतिक मात्र होइन, असंवैधानिक पनि हो । उहाँले संविधानको धारा १०५ पढ्नुभएन कि ?’
उनले अदालतमा विचाराधीन मुद्दा तथा न्यायाधीशले कर्तव्य पालनाका क्रममा गरेका न्यायिक कार्यबारे संसद्मा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था रहेको स्मरण गराए ।
राईले सभामुखतर्फ संकेत गर्दै प्रश्न गरे, ‘के सत्तारुढ दलका सांसदले जे बोल्दा पनि संविधान बाधक नबन्ने हो ? रोस्ट्रममा उभिएर असंवैधानिक विषय उठाउँदा सभामुख टुलुटुलु हेरेर बस्न मिल्छ ?’
उनले यस विषयमा सभामुखले स्वतः रुलिङ गर्ने अपेक्षा गरेको तर त्यसतर्फ ध्यान नपुगेको बताए ।
राईको अभिव्यक्तिपछि रास्वपा सांसद गणेश पराजुली उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले कुन नियमावलीअनुसार विरोध गरिएको हो भन्दै प्रश्न गरेका थिए ।
सभामुखले हिजोको अभिव्यक्ति आफूले हेर्न बाँकी रहेको बताउँदै पराजुलीलाई रोकेर बैठकको कारबाही अगाडि बढाएका थिए ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित