
काठमाडौँ । सरकारले संविधान संशोधनको विषयमा छलफल गर्न जेनजी आन्दोलनका प्रतिनिधिहरुलाई आमन्त्रण गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को सचिवालयले जेनजी आन्दोलनका २० जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले आगामी शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित सगरमाथा हलमा छलफल आयोजना गर्ने जनाएको छ ।
सचिवालयले जारी गरेको पत्रमा संविधान संशोधनसम्बन्धी बहस, सुझाव र धारणा संकलनका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग संवाद गर्न लागिएको उल्लेख गरिएको छ ।
छलफलमा सहभागी प्रत्येक वक्तालाई तीन मिनेट समय दिइनेछ । साथै, लिखित सुझावसमेत पेश गर्न सकिने सचिवालयले जनाएको छ ।
छलफलका लागि आमन्त्रित प्रतिनिधिहरूमा रक्षा बम, उपार्जुन चाम्लिङ, तनुजा पाण्डे, माजित अन्सारी, अर्पित चौधरी, रिजन रामामगर, अमृता बम, युगन राजभण्डारी, प्रभाष बस्नेत, पेमा वाङ्बु, टंक जैसी, यादव अर्याल, यतिस ओझा, जनक पोखरेल, आयुष बराल, सुदीप सेठ, अरुण सिंह नेपाली, विप्लवी न्यौपाने, साकेन राई र मोनिका निरौला रहेका छन् ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित