
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री सदनमा उपस्थित नभए विरोध जारी राख्ने जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभए विरोध जारी रहने बताएका हुन् ।
उनले भने, ‘देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्रै होइन, संसदीय अभ्यासप्रतिको उदासीनता पनि हो। अझ दुःखको कुरा, सत्तापक्षका सदस्यहरूले यसलाई सामान्य बनाउन खोजिरहेका छन्। देशभित्रै रहनुभएका प्रधानमन्त्रीको कार्यालय संसद् भवनबाट केही सय मिटरको दूरीमा मात्रै छ। उहाँलाई सदनमा उपस्थित गराइयोस् भन्ने हाम्रो सामान्य आग्रह थियो।’
राईले नीति तथा कार्यक्रम सरकारको आगामी एक वर्षको दिशा, प्राथमिकता र कार्ययोजना भएको उल्लेख गरे ।
उनले थपे, ‘संविधानको धारा ७६(१०) अनुसार हामी प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन चाहन्छौँ। तर दुईतिहाइ नजिकको समर्थनको आडमा सांसदहरूलाई नै कमजोर बनाउने प्रयास भइरहेको अनुभूति भएको छ। प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत होइन।’
उनले सदनको गरिमा जोगाउने र सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने प्रमुख जिम्मेवारी सभामुखको भएको बताए ।
सभामुखलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईं हाम्रो अभिभावक र संसद्को संरक्षक हुनुहुन्छ। यस विषयमा गम्भीर बन्नुहुनेछ भन्ने विश्वास छ। यदि प्रधानमन्त्री अनुपस्थित रहनुभयो भने हाम्रो विरोध जारी रहनेछ।’
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित