पार्टी एकताका लागि गगन थापाले अघि सारे तीन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र विचार समूहका भेला र छलफलप्रति आफूलाई कुनै आपत्ति नरहेको बताएका हुन् ।

थापाले १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि हाल केन्द्रीय समितिभन्दा बाहिर रहेका नेताहरूलाई पुनः सक्रिय भूमिकामा आउन आग्रह गरे ।

उनले भने, ‘हामी पार्टीको केन्द्रीय समिति हौँ। केही साथीहरू अहिले समितिभन्दा बाहिर हुनुहुन्छ। जो १४औँ महाधिवेशनबाट निर्वाचित हुनुभएको थियो र अहिले बाहिर हुनुहुन्छ, उहाँहरूलाई म आग्रह गरिरहेको छु— कमिटीमा आउनुस्, सँगै बसेर काम गरौँ। त्यसका लागि मैले सभापतिको हैसियतले शीर्ष नेताहरूसँग संवाद गरिरहेको छु ।’

पार्टीभित्र एकता कायम गर्न आफूले तीन प्रस्ताव अघि सारेको पनि उनले बताए । सदस्यता समिति, निर्वाचन समिति र अनुशासन समितिमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न तयार रहेको उनको भनाइ थियो ।

उनले भने, ‘सदस्यता समितिमा को-को राख्ने हो, सबैको चित्त बुझ्ने गरी राखौँ। निर्वाचन समितिमा पनि सबैलाई निष्पक्ष लाग्ने गरी साथीहरू थपौँ। अनुशासन समितिमा पनि आशंका छ भने मिलाएर अघि बढौँ ।’

थापाले आफ्नो प्रस्तावको मुख्य उद्देश्य सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउनु रहेको बताए ।

उनले भने, ‘मैले नेताहरूलाई यही भनेको छु। भेला गर्ने कुरासँग मेरो कुनै आपत्ति छैन। पार्टीभित्र विचार समूह हुन्छ, भेला हुन्छ। हिजो हामीले गर्‍यौँ, आज अरूले गर्न पाइँदैन भन्ने हुँदैन ।’

आन्तरिक बहसले मात्रै कांग्रेसको भविष्य सुनिश्चित नहुने भन्दै उनले जनतासँग पुनः संवाद गर्नुपर्ने आवश्यकता औंल्याए । करिब १० लाख मतदाता कांग्रेससँग असन्तुष्ट रहेको उल्लेख गर्दै उनीहरूको विश्वास पुनः जित्नुपर्ने बताए ।

थापाले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । वडा सभापतिहरूलाई सदस्यता अद्यावधिकको काम नगरे जिम्मेवारी अन्यलाई दिइने चेतावनी समेत दिए ।

उनले भने, ‘यो अपडेट गर्ने काम विधानको व्यवस्था पनि हो। कुनै साथीले म यो काम गर्दिनँ भन्नुभयो भने धन्यवाद, अर्को दिन अर्को साथीलाई जिम्मा जान्छ। पार्टी कसैको कारणले रोकिँदैन ।’

प्रतिक्रिया

ताजा समाचार