
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्मा प्ले कार्ड र पर्चासहित विरोध प्रदर्शन नगर्न सांसदहरूलाई निर्देशन दिएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखले श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड र पर्चा प्रयोग गरेर विरोध जनाएको प्रसंग उठाउँदै यस्तो शैली संसदीय मर्यादाविपरीत भएको बताएका हुन्।
बैठकको सुरुवातमै श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखको आसनअगाडि पुगेर प्ले कार्ड प्रदर्शन गरेका थिए। त्यसपछि उनीहरू छातीमा पर्चा टाँसेर बैठकमा सहभागी भएका थिए।
त्यसक्रममा सभामुख अर्यालले संसद् कानुन निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले विरोध पनि मर्यादित ढंगले हुनुपर्ने बताएका थिए। उनले भने, “विरोध गर्ने विभिन्न शैली हुन सक्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्छ। आगामी दिनमा यस्ता गतिविधि नगर्न यसलाई आदेशकै रूपमा लिन आग्रह गर्दछु।”
सभामुखले प्ले कार्ड र पर्चा देखाएर विरोध गर्ने शैली न नियमावलीअनुसार रहेको न संसदीय अभ्यासमै रहेको बताएका छन्। उनले भविष्यमा विरोधका कार्यक्रम मर्यादित र संसदीय अभ्यासअनुसार गर्न सांसदहरूलाई आग्रह गरे।
सभामुखको निर्देशनपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरू भने छातीमा पर्चा टाँसेरै बैठकमा बसेका थिए।
यसअघि विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले नै दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री अनुपस्थित भएपछि सरकारको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए।
प्रतिनिधिसभामा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भए पनि जेठ र असार महिनाको संसदीय क्यालेन्डरमा यस्तो कार्यक्रम समावेश गरिएको छैन। यही विषयलाई लिएर श्रम संस्कृति पार्टीले संसद्मै विरोध जनाएको हो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित