
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टी परित्याग गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै उनले राप्रपासँगको आफ्नो राजनीतिक यात्रा अन्त्य गरेको घोषणा गरेका हुन्।
राणाले शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको राय–सल्लाहका आधारमा देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित नयाँ राजनीतिक यात्रामा अघि बढ्ने निर्णय गरेको बताएका छन्।
विज्ञप्तिमा उनले देश तथा विदेशमा रहेका नेपालीहरूबाट समयको माग र जनभावनाअनुसार अघि बढ्न सुझाव तथा शुभेच्छा प्राप्त भएको उल्लेख गरेका छन्। साथै, देशप्रेमी, राष्ट्रवादी शक्तिहरू तथा युवा पुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
राणाले विगत चार वर्ष राप्रपालाई जनभावनाअनुकूल दिशामा अघि बढाउने प्रयास गरिएको भए पनि पार्टीभित्रको निषेधाभास र सैद्धान्तिक द्विविधाका कारण गलत बाटो अपनाइएको दाबी गरेका छन्।
“राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ भने त्यतै रहन शुभकामना छ, कुनै बैरभाव छैन,” विज्ञप्तिमा भनिएको छ, “तर स्वच्छ मन र आत्मीय सम्बन्धका साथ हाम्रा मान्यताहरूलाई सही लक्ष्यतर्फ लैजान चाहनेहरूलाई एकजुट भएर अघि बढ्न हार्दिक आह्वान गर्दछु।”
राणाको यो निर्णयलाई राप्रपाभित्रको पछिल्लो राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित