
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले आफ्नो भारत भ्रमणबारे विस्तृत जानकारी नेपाल फर्किएपछि दिने बताउनुभयो।
उहाँसँगै भ्रमणदलमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी हुनुहुन्छ।
सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। भ्रमणका क्रममा भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न भेटवार्ता तथा संवाद कार्यक्रम तय गरिएको जनाइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुन सक्ने चर्चा भए पनि त्यसबारे आधिकारिक रूपमा कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन। यस भ्रमणले नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका विविध आयाममा संवादको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित