प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने भन्दै नेपालले भारतको भूमि मिचेको भन्ने दाबी पुष्टि गर्न चुनौती दिएका हुन्।

उनले चिया पसलको गफ र संसद्मा व्यक्त गरिने अभिव्यक्तिबीच ठूलो फरक हुने उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइलाई देशको आधिकारिक धारणाका रूपमा हेरिने बताए।

“सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ। प्रधानमन्त्रीले कुनै दाबी गर्नुभयो भने त्यसलाई देशले सरकारी धारणा ठान्छ, अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणका रूपमा लिन्छ र जनताले सत्यका रूपमा ग्रहण गर्छन्,” शाहीले भने।

उनले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिँदै तथ्याङ्कविहीन अभिव्यक्ति राजनीतिक भाषण हुन सक्ने भए पनि राज्य सञ्चालनको आधार बन्न नसक्ने बताए।

शाहीले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखमार्फत सरकारसँग मागसमेत गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार