
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेका बेला नेतृत्व नछाड्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूलाई कठिन परिस्थितिको सामना गर्दै पार्टीको नेतृत्व गर्नकै लागि अध्यक्षमा चयन गरिएको बताए।
ओलीले अनुकूल अवस्थामा मात्र नेतृत्व गर्ने र चुनौती आएपछि जिम्मेवारीबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने बताए।
उनले भने, “अनुकूल वातावरण बन्यो, प्रधानमन्त्री बन्न पाइयो भने अगाडि बढ्ने र अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भाग्ने कुरा होइन। जस्तोसुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नुपर्छ। पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। अप्ठ्यारो अवस्था आएकै छ भने त्यसको सामना गर्न तयार हुनुपर्छ। त्यसकै लागि मलाई अध्यक्ष छानिएको हो।”
उनले आफूले नेतृत्व बीचमै छाड्ने भन्ने आशंका नराख्न कार्यकर्तालाई आग्रह गरे।
ओलीले भने, “मैले बीचमै झोला फ्याँकेर पार्टीलाई अलपत्र छोडेर हिँड्छु कि भन्ने आशंका मनमा नराख्नुस्। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाउनेछु। पार्टीलाई सफलतामा पुर्याएपछि, जब विश्राम लिनुपर्ने अवस्था आउँछ, पार्टीको विधान, विधि र प्रक्रियाअनुसार नै विश्राम लिनेछु।”
उनले पार्टी, आन्दोलन र देशलाई विद्यमान चुनौतीहरूको सामना गर्दै अगाडि बढाउने आफ्नो संकल्प दृढ रहेको पनि बताए।
पूर्वराष्ट्रपति विद्या भण्डारीको एमाले सदस्यता नवीकरणबारे उठेका प्रश्नको जवाफ दिँदै ओलीले भण्डारीले हालै सदस्यताका लागि आवेदन दिएको जानकारी दिए।
उनले भने, “विद्या भण्डारीजीको विषय अहिले पनि उठिरहेको छ। वास्तवमा उहाँ राष्ट्रपति भएको बेला पार्टीको सक्रिय सदस्य हुनुहुन्नथ्यो, त्यसैले सदस्यता नवीकरणको प्रश्न नै थिएन। हालै उहाँले आवेदन दिनुभयो र आवेदनपछि सम्बन्धित कमिटीले सदस्यता प्रदान गरेको हो। यसमा कुनै भ्रम राख्नुपर्ने आवश्यकता छैन।”
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित