राप्रपाका १८३ नेता–कार्यकर्ताद्वारा सामूहिक पार्टी परित्याग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १८३ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। बिहीबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले राप्रपासँगको सम्पूर्ण जिम्मेवारी र संगठनात्मक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन्।

पार्टी परित्याग गर्नेहरूमा राप्रपाका महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठलगायत केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा कार्यकर्ताहरू रहेका छन्।

संयुक्त वक्तव्यमा उनीहरूले राप्रपाको मूल वैचारिक आधार संवैधानिक राजसंस्था र संसदीय प्रजातन्त्र भए पनि पछिल्ला वर्षहरूमा पार्टी नेतृत्व त्यस मार्गबाट विचलित भएको आरोप लगाएका छन्। २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनले दिएको “सिद्धान्त र जनताकेन्द्रित राजनीति” को म्यान्डेटलाई बेवास्ता गर्दै नेतृत्व आत्मकेन्द्रित शैलीमा अघि बढेको उनीहरूको दाबी छ।

उनीहरूले केन्द्रीय कार्यसमितिलाई जानकारी नदिई सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ अन्तर्गत संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणसम्बन्धी प्रक्रियामा सहभागी भएको विषयलाई विशेष रूपमा आलोचना गरेका छन्। यसले पार्टीको घोषित नीति, उद्देश्य र मूल लक्ष्यविपरीत काम भएको भन्दै उनीहरूले प्रश्न उठाएका छन्।

वक्तव्यमा नेतृत्वको निर्णय प्रक्रियामा पारदर्शिताको अभाव रहेको, वैधानिक निकायहरूको भूमिका कमजोर पारिएको तथा पार्टी विधानको पालना नगरेको आरोप पनि लगाइएको छ। उनीहरूका अनुसार आन्तरिक असन्तुष्टि र फरक मतलाई सम्बोधन गर्नुको सट्टा कारबाही र दबाबमार्फत नियन्त्रण गर्ने प्रवृत्ति बढ्दै गएको थियो।

पार्टी परित्याग गर्ने नेताहरूले पछिल्ला निर्वाचन परिणामलाई समेत उल्लेख गर्दै राप्रपाप्रति जनविश्वास क्रमशः घट्दै गएको निष्कर्ष निकालेका छन्। प्रतिनिधिसभा निर्वाचन २०८२ मा ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको तथ्यलाई उनीहरूले पार्टीको कमजोर अवस्थाको संकेतका रूपमा प्रस्तुत गरेका छन्।

उनीहरूले अबदेखि राप्रपासँग कुनै पनि प्रकारको संगठनात्मक सम्बन्ध नरहने स्पष्ट गर्दै नयाँ राजनीतिक यात्राबारे उपयुक्त समयमा धारणा सार्वजनिक गर्ने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार