रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागमती प्रदेश अधिवेशनअन्तर्गत सञ्चालन भइरहेको निर्वाचन कार्यक्रम केही समयका लागि मात्र स्थगित गरिएको स्पष्ट गरेको छ।

आयोगले आज जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत अधिवेशन पूर्ण रूपमा रद्द भएको भन्ने सूचना भ्रामक रहेको जनाएको छ। आयोगका अनुसार जेठ २६ गते पूर्वनिर्धारित कार्यतालिकाअनुसार सञ्चालन भइरहेको अधिवेशनलाई प्राविधिक तथा व्यवस्थापकीय कारणले जेठ २७ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो।

यसबीच अधिवेशन रद्द भएको भन्ने गलत सूचना फैलिएपछि केही प्रतिनिधिहरू मतदान स्थलबाट फर्किएको विषयप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले अधिवेशन रद्द नभई निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन अस्थायी रूपमा मात्र स्थगन गरिएको स्पष्ट पारेको छ।

आयोगका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न तथा करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको सम्बोधन गर्न समय आवश्यक परेकाले निर्वाचन प्रक्रिया स्थगित गरिएको हो।

त्यसैगरी, प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रियालाई थप सहज, व्यवस्थित र विश्वसनीय बनाउन पनि कार्यक्रम स्थगन गरिएको आयोगले जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगले प्रतिनिधि तथा सम्बन्धित सबै पक्षलाई आधिकारिक सूचनामाथि मात्र विश्वास गर्न आग्रह गर्दै निर्वाचन कार्यक्रमसम्बन्धी थप जानकारी समयमै सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार