अर्थमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूको आपत्ति, संसदमा विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका छन्। हिजो सुचारु भएको संसद् बैठक आज फेरि अवरुद्ध भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हिजो दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्रीले सांसदहरूलाई धम्की दिएको तथा वित्तीय अनियमितता गरेको आरोप लगाए।

उनले अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्नुपर्ने माग समेत गरे।

पुनले भने, “अर्थमन्त्रीबाट समिति र संसद्को अवमूल्यन भएको छ। सांसदहरूलाई धम्क्याउने प्रयास गरिएको छ। यसप्रति हाम्रो गम्भीर आपत्ति छ। सातवटा करका दर हेरफेर गरिएको कुरा उहाँले खुला रूपमा स्वीकार गर्नुभएको छ। यो आर्थिक अपराध हो। उल्टै धम्कीपूर्ण शैलीमा ‘मैले गरेकै हुँ’ भन्नुभएको छ। यसले संसद्को गरिमामा आँच पुर्‍याएको छ। सभामुखबाट रुलिङ हुनुपर्छ र यस विषयमा संसदीय छानबिन गरिनुपर्छ।”

हिजो आर्थिक विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई लक्षित गर्दै, “तपाईंहरूको काण्डबारे पनि म अनभिज्ञ छैन, ती पनि खुल्नेछन्,” भन्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार