अर्थमन्त्रीले प्रश्न गर्ने सांसदलाई ‘फाइल खोल्ने’ धम्की दिनु संसदीय मर्यादामाथिको अपमान : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको संसद्मा अनुपस्थिति र मौनता व्यक्तिगत रुचि वा लहडको विषय नभएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्न उठाउने सांसदलाई ‘काण्डको फाइल खोल्ने’ चेतावनी दिनु संसदीय मर्यादामाथिको अपमान भएको टिप्पणी गरे।

केसीले भने, “प्रधानमन्त्रीको संसद् अनुपस्थिति र मौनता उहाँको रुचि वा व्यक्तिगत लहडको विषय होइन। प्रश्न गर्नु नागरिकको अधिकार हो भने संसद्मा प्रश्न उठाउनु सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई ‘तपाईंको काण्डको फाइल खोल्छु’ भन्नु संसदीय मर्यादामाथिको अपमान हो। संसद् धम्की, नाराबाजी वा प्रदर्शनको थलो होइन, यो तर्क, बहस र नीतिगत विमर्शको मञ्च हो। यसतर्फ हामी सबै गम्भीर बन्नुपर्छ।”

उनले राष्ट्रियता जस्तो गम्भीर विषयमा समेत प्रधानमन्त्री निरन्तर संसद्मा अनुपस्थित रहनु जनता र संसद्प्रतिको उपेक्षा भएको बताए।

केसीले भने, “प्रधानमन्त्रीको दायित्व वारेसमार्फत निर्वाह गराइनु संसद्प्रतिको घोर अपमान र खेदजनक विषय हो। शक्ति सन्तुलन र नियन्त्रणका प्रक्रियाहरू क्रमशः कमजोर बन्दै गएका छन्। अधिकारको केन्द्रीकरण तथा स्थापित संसदीय अभ्यास र संस्थागत गरिमालाई कुण्ठित पार्ने प्रवृत्तिले अस्थिरता र निरंकुशतालाई बढावा दिन्छ।”

प्रतिक्रिया

ताजा समाचार