अर्थमन्त्रीले गल्ती स्वीकारिसक्नुभएको छ, नैतिक रूपमा पदमा बस्न मिल्दैन : वर्षमान पुन

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्न माग गरेका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अर्थमन्त्रीले संसद्मै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि, प्रक्रिया र नैतिकतामाथि गम्भीर प्रश्न उठाएको बताए।

उनले मन्त्रिपरिषद्बाट पारित भएको विधेयक जस्ताको तस्तै संसद्मा प्रस्तुत हुनुपर्ने संवैधानिक तथा कानुनी व्यवस्था रहेको उल्लेख गरे। विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारका बेला मन्त्रिपरिषद्ले स्वीकृत गरेको विधेयकमा संशोधन गर्न खोज्दा तत्कालीन उद्योगमन्त्री मातृका यादव विवादमा परेको र अन्ततः मन्त्रिपरिषद्को निर्णयअनुसार नै विधेयक पेश गरिएको उदाहरण पनि उनले स्मरण गराए।

पुनले भने, “अर्थमन्त्रीले मन्त्रिपरिषद्ले स्वीकृत गरेको दस्तावेजमा एकल रूपमा हेरफेर गर्नुभएको हो भने नैतिक रूपमा पदमा बसिरहन मिल्दैन। प्रधानमन्त्रीले उहाँलाई पदबाट हटाउनुपर्छ वा राजीनामा माग्नुपर्छ। बजेट निर्माण प्रक्रियामा पारदर्शिता र विश्वसनीयता कायम गर्न संसदीय छानबिन आवश्यक छ।”

उनले दिवंगत पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको कार्यकालमा बजेट चुहावटसम्बन्धी विवाद उठेपछि संसदीय छानबिनमार्फत बजेट निर्माण प्रक्रियालाई थप व्यवस्थित र वैज्ञानिक बनाइएको उदाहरण पनि प्रस्तुत गरे।

पुनले भने, “अहिलेको विवादमा पनि निष्पक्ष छानबिन हुनुपर्छ। गल्ती प्रमाणित भए कारबाही हुनुपर्छ, र गल्ती नभए भविष्यमा यस्ता प्रश्न उठ्न नदिन प्रक्रिया थप सुधार गर्नुपर्छ।”

अर्थमन्त्रीले विगतका बजेटसमेत छानबिन गर्ने चुनौती दिएको उल्लेख गर्दै पुनले आफूले ल्याएको बजेटसमेत अनुसन्धान गर्न तयार रहेको बताए।

प्रतिक्रिया

ताजा समाचार