
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालको राजीनामा माग गरेका छन्।
प्रचण्डलाई ३६ बुँदे असन्तुष्टिपत्र बुझाउँदै खनालले वर्तमान नेतृत्व विचलित भएको आरोप लगाएका छन्। उनले यही नेतृत्वमा पार्टीलाई महाधिवेशनसम्म लैजान नसकिने निष्कर्षसहित नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका छन्।
खनालले पार्टी एकीकरणपछि संगठनात्मक एकता अझै पूर्ण रूपमा सम्पन्न हुन नसकेको, निर्वाचनमा ‘शर्मनाक पराजय’ व्यहोर्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको नेतृत्वले ठोस विश्लेषण गर्न नसकेको आरोप लगाएका छन्।
उनले संयोजक प्रचण्ड र सहसंयोजक नेपालले पदबाट राजीनामा दिई विशेष बैठकमार्फत नयाँ, सक्षम र वैचारिक रूपमा स्पष्ट नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। खनालको भनाइमा यस्तो नेतृत्वले मात्र पार्टीलाई प्रभावकारी रूपमा महाधिवेशनसम्म पुर्याउन सक्छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित