
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापा चितवन जाने भएका छन्।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशनको शुभकामना दिएका थापा उद्घाटन सत्रमा सहभागी हुन चितवन जाने तयारीमा रहेको उनको सचिवालय स्रोतले जनाएको छ।
रास्वपाले महाधिवेशनमा शुभकामना दिन प्रमुख राजनीतिक दलहरूलाई आमन्त्रण गरेको छ। यसअघि प्रमुख दलका शीर्ष नेताहरू सहभागी नहुने चर्चा भए पनि थापा उद्घाटन समारोहमा सहभागी हुने भएका हुन्।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेता प्रदीप ज्ञवाली लाई तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेता वर्षमान पुन लाई प्रतिनिधिका रूपमा पठाउने तयारी गरेको छ।
रास्वपाको पहिलो महाधिवेशन आइतबार भरतपुर स्थित गेस्टहाउस चौरमा उद्घाटन हुँदैछ। महाधिवेशन मंगलबारसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित