
भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनका सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र गैरदलीय विशेषज्ञहरूको राष्ट्रिय सभा गठन गर्ने प्रस्ताव अघि सारेको छ। चितवनको भरतपुरमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति रवि लामिछाने ले स्थिर नेतृत्व, स्पष्ट जिम्मेवारी र प्रभावकारी शासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा पार्टी रहेको बताएका हुन्।
प्रतिवेदनमा राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञहरूको संस्था बनाउने तथा त्यसको अध्यक्ष उपराष्ट्रपति रहने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। संविधान संशोधन कुनै दलको घोषणापत्र नभई राष्ट्रको साझा दस्तावेज भएकाले व्यापक राष्ट्रिय संवाद, विज्ञहरूको सुझाव, नागरिक सहभागिता र सम्भव भएसम्म सर्वदलीय सहमतिका आधारमा अघि बढाउनुपर्ने रास्वपाको धारणा छ।
सभापति लामिछानेले रास्वपा परम्परागत वामपन्थी वा दक्षिणपन्थी राजनीतिक ध्रुवीकरणमा सीमित नभएको स्पष्ट पार्दै पार्टीले व्यावहारिक, विवेकसम्मत र आवश्यकतामा आधारित राजनीतिक दृष्टिकोणलाई प्राथमिकता दिने बताएका छन्। निजी क्षेत्रको प्रोत्साहन, लगानीमैत्री वातावरण र बजार स्वतन्त्रताको पक्षमा उभिँदा दक्षिणपन्थी तथा आधारभूत स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सुरक्षाको सुनिश्चितताको पक्षमा उभिँदा वामपन्थी देखिन सक्ने भए पनि पार्टी कुनै एकल वैचारिक ढाँचामा सीमित नरहने उनको भनाइ छ।
महाधिवेशनपछि रास्वपाको मूल राजनीतिक सिद्धान्त ‘सामाजिक लोकतन्त्र’ हुने उल्लेख गर्दै लामिछानेले संविधानलाई दलको विचार वा सिद्धान्तका रूपमा स्वीकार गर्न उपयुक्त नहुने धारणा राखेका छन्। संविधान राष्ट्रको मार्गदर्शक दस्तावेज भए पनि दलको विचार, नीति र सिद्धान्त फरक विषय भएको उनको तर्क छ।
अरू राजनीतिक दललाई शत्रु नभई विचार र कार्यक्रमका आधारमा प्रतिस्पर्धीका रूपमा हेर्नुपर्ने धारणा राख्दै लामिछानेले गरिबी, भ्रष्टाचार, कुशासन, बेरोजगारी, अशिक्षा, कमजोर स्वास्थ्य सेवा, युवाको पलायन र आर्थिक परनिर्भरतालाई देशका वास्तविक चुनौतीका रूपमा चित्रण गरेका छन्। उनले शिक्षा, स्वास्थ्य र दीर्घकालीन राष्ट्रिय नीतिका विषयमा दलहरूबीच सहमति आवश्यक रहेको बताएका छन्।
प्रतिवेदनमा पार्टीभित्र गुटगत सोच, व्यक्तिकेन्द्रित प्रवृत्ति, संरक्षणवाद र संगठनात्मक कमजोरी रहेको स्वीकार गर्दै उनले विधि, पारदर्शिता, अनुशासन र साझा उद्देश्यको संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। रास्वपा क्षणिक लोकप्रियताको शक्ति नभई दीर्घकालीन संस्थागत र परिवर्तनकारी राजनीतिक शक्तिका रूपमा स्थापित हुनुपर्ने उनको भनाइ छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित