
काठमाडौं । नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’बाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ।
पार्टीका महासचिव शंकर पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा कार्यदलको कामकारबाही सुरुदेखि नै सन्दिग्ध रहेको तथा यसले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि प्रहार गर्न खोजेको आरोप लगाउँदै प्रतिनिधि फिर्ता बोलाइएको जानकारी दिएका छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गठन गरिएको उक्त कार्यदलमा एमालेका तर्फबाट डा. भीष्म अधिकारी सहभागी थिए। तर, कार्यदलको कार्यशैली, उद्देश्य र संविधान संशोधनसम्बन्धी बहसप्रति असन्तुष्टि जनाउँदै एमालेले उनलाई औपचारिक रूपमा फिर्ता बोलाएको जनाएको छ।
विज्ञप्तिअनुसार संविधान संशोधनका विषय स्पष्ट रूपमा निर्धारण नगरिएको र वर्तमान संविधानको आधारभूत संरचनाप्रति सरकारको धारणा पनि अस्पष्ट रहेको एमालेको निष्कर्ष छ।
पार्टीले संशोधनका लागि बहसमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मविपरीत देखिएको दाबी गरेको छ। यस सम्बन्धमा सरकारसँग पटक–पटक स्पष्ट धारणा माग गरिए पनि कुनै सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
एमालेले वर्तमान संविधानका आधारभूत विशेषतालाई थप सुदृढ बनाउँदै विगतका कमजोरी सुधार्न आफू प्रतिबद्ध रहेको जनाउँदै कार्यदलले भने संविधानको मौलिक व्यवस्थामै हस्तक्षेप गर्ने उद्देश्य राखेको आरोप लगाएको छ।
यसअघि पनि चार राजनीतिक दल उक्त कार्यदलबाट बाहिरिइसकेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित