
काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदमा सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका मानबहादुर कार्की तथा आयुक्तमा सिफारिस भएका राजीव सुब्बा र गुरुप्रसाद वाग्लाको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार उनीहरूको सुनुवाइका लागि १० दिनको समयसीमा तोक्दै सार्वजनिक रूपमा उजुरी आह्वान गरिएको छ। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधारसहित विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट उजुरी वा सूचना पेश गर्न सकिने उनले जानकारी दिए।
उनका अनुसार आगामी साउन ५ गते बस्ने समिति बैठकमा प्राप्त उजुरीहरू खोलिनेछन् र अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिनेछ।
बैठकमा विपक्षी दलका सांसदहरूले संसदीय सुनुवाइ प्रक्रिया हतारमा अघि नबढाई स्थापित प्रक्रिया र अभ्यासअनुसार सञ्चालन गर्न आग्रह गरेका थिए। समिति सदस्य पद्मा अर्यालले एकै दिन सबै सुनुवाइ प्रक्रिया अघि बढाउँदा प्रभावकारिता घट्ने भन्दै प्रक्रियागत रूपमा सुनुवाइ गर्नुपर्ने धारणा राखिन्।
त्यस्तै, समिति सदस्य वर्षमान पुनले पनि विगतको संसदीय अभ्यासअनुसार पर्याप्त छलफल गर्दै सुनुवाइ प्रक्रिया अघि बढाउन सुझाव दिए।
सांसदहरूको सुझावपछि समितिका सभापति श्रेष्ठले प्रक्रियागत व्यवस्था पालना गर्दै पर्याप्त छलफलका साथ सुनुवाइ प्रक्रिया अघि बढाइने बताए।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयोगका रिक्त पदहरूका लागि मानबहादुर कार्की, राजीव सुब्बा र गुरुप्रसाद वाग्लाको नाम सिफारिस गरेको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित