
काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद विश्वकर्माले मुगुका गणेश नेपालीको घटनाप्रति महानगरको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री शाहले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताएका हुन्।
‘जलिरहेको मान्छेलाई अपराधीझैं घिसारेर अस्पताल पुर्याइयो। त्यहाँ रहेका प्रहरीहरू गणेश नेपाली आगोमा जलिरहँदा भागे,’ उनले भने, ‘ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीमाथि कडा कारबाही गरियोस्। बालेन सरकार राजीनामा देओस्।’
विश्वकर्माले महानगरको ‘क्रूर व्यवहार’का कारण गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको आरोप पनि लगाए।
‘आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्याइयो। यो क्रूर सरकारले गणेश नेपालीलाई मर्न बाध्य बनायो। उनको मृत्यु भइसकेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा पनि यो सरकार कुर्सीमा टाँसिरहनु उचित हो कि होइन? यदि नैतिकता छ भने बालेन सरकारले तुरुन्त राजीनामा दिएर सडकमा आओस्।’
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित