काठमाडौं। बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएको छ। नेपाली कांग्रेसले सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि एमालेले आफ्नो तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री कांग्रेसका इन्द्रबहादुर बानियाँ हुन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीको केन्द्रीय निर्देशनअनुसार मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेको जानकारी दिए।
उनले भने, “कांग्रेसको निर्णयपछि हामीले उहाँहरूसँग पनि छलफल गर्यौँ। उहाँहरूले सहकार्य अन्त्य गर्ने निर्णयबारे जानकारी गराउनुभयो। त्यसपछि सरकारबाट बाहिरिने निर्णय गरेका हौँ।”
थपलियाले केन्द्रीय निर्देशनअनुसार मन्त्रीहरूलाई तत्काल राजीनामा दिन भनिएको पनि बताए।
हाल बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट ६ जना मन्त्री छन्। यसअघि मुख्यमन्त्री बानियाँले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ कायम गर्दै एमालेका ६ जना मन्त्रीलाई विनाविभागीय बनाएका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित