
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धन कमजोर बन्दै गएपछि नयाँ राजनीतिक समीकरणको प्रयास तीव्र भएको छ। विभिन्न दलबीच छलफल भइरहेका बेला नेकपा र एमालेबीच सहकार्यको सम्भावना बलियो बन्दै गएको नेताहरूको भनाइ छ।
नेकपाले नयाँ सत्ता समीकरणबारे संवादका लागि नेता वर्षमान पुन र प्रमेश हमाललाई जिम्मेवारी दिएको छ। उनीहरूले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर सम्भावित गठबन्धनबारे छलफल गरेका थिए।
छलफलमा ओलीले सकेसम्म तीनदलीय गठबन्धनकै पक्षमा रहेको संकेत गरे पनि आवश्यक परे दुईदलीय सहकार्यका लागि पनि तयार रहेको बताएका छन्। उनले भने बागमती र मधेश प्रदेशमा एमाले र नेकपामात्रै मिल्दा बहुमत नपुग्ने भएकाले ती प्रदेशमा अन्य दलको पनि सहयोग आवश्यक पर्ने धारणा राखेका थिए।
नेकपाका नेताहरूले कांग्रेससँग पनि संवाद जारी राखे पनि पछिल्लो समय एमालेसँगको छलफल बढी सक्रिय भएको स्रोतहरूको भनाइ छ। कांग्रेस सभापति गगन थापासँग भेट हुने भनिए पनि गठबन्धनबारे कुनै औपचारिक छलफल नभएको कांग्रेस सचिवालयले जनाएको छ।
यसबीच नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशमा रहेकाले सहसंयोजक माधवकुमार नेपालले राजनीतिक संवादको नेतृत्व गरिरहेका छन्। स्रोतका अनुसार नेपालकै निर्देशनमा विभिन्न दलसँग छलफल अघि बढाइएको हो।
नेकपाभित्र कांग्रेससँग सहकार्य गर्नुपर्ने मत भए पनि बहुसंख्यक नेताहरू एमालेसँग कार्यगत एकता गर्दै आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनसम्म सहकार्य गर्नुपर्ने पक्षमा देखिएका छन्।
यसै क्रममा एमाले अध्यक्ष ओली र सहसंयोजक माधवकुमार नेपालबीच पनि भेट गराउने प्रयास भइरहेको छ। स्रोतका अनुसार दुवै नेताबीच केही दिनभित्रै भेट हुने सम्भावना छ, जसले नेकपा–एमाले सहकार्यलाई थप गति दिन सक्ने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेससँग सहकार्य गरेर सरकारमा सहभागी हुने निर्णयबारे नेकपाभित्रै असन्तुष्टि देखिएको छ।
कांग्रेस र नेकपाको समर्थनमा एमालेका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नेताहरूले त्यसलाई हतारोको निर्णय भएको टिप्पणी गरेका छन्।
नेकपा नेता शक्तिबहादुर बस्नेतले सामाजिक सञ्जालमार्फत प्रदेश सरकारमा सहभागी हुने विषयमा अनावश्यक हतार गरिएको बताएका छन्। उनले अहिले सत्ताको प्रतिस्पर्धाभन्दा राजनीतिक सहकार्य आवश्यक रहेको धारणा राखेका छन्।
नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज टेकबहादुर बस्नेत र नेता नरेश भण्डारीले पनि कांग्रेससँगको सहकार्यलाई पार्टीको नीति विपरीत र दीर्घकालीन रूपमा घातक हुन सक्ने बताएका छन्।
यसबीच एमाले अध्यक्ष ओलीले पनि कर्णालीमा नेकपाले हतार गरेको टिप्पणी गर्दै उक्त निर्णय पुनर्विचार गरी एमाले–नेकपा सहकार्यको वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए।
हाल नेकपाले कांग्रेस र एमाले दुवैसँग समानान्तर संवाद जारी राखेको छ। श्रीलंकाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फर्किएपछि नयाँ सत्ता समीकरणबारे निर्णायक छलफल हुने र राजनीतिक घटनाक्रमले थप गति लिने अपेक्षा गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित