
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको छ।
प्रचण्ड आज बिहान नेपाल निवास पुगेर भेटवार्ता गरेका हुन्।
भेटमा नेकपा र एमालेबीच भएको तीनबुँदे सहमति, त्यसको समीक्षा तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भएको स्रोतले जनाएको छ।
एक नेताका अनुसार, एमालेसँग भएको सहमतिबारे समीक्षा भए पनि बाहिर चर्चा भएजस्तो कुनै असहमति नरहेको निष्कर्ष बैठकमा व्यक्त गरिएको थियो।
ती नेताले भने, “एमालेसँग भएको सहमतिको समीक्षा भयो। बाहिर चर्चा भएजस्तो कुनै असहमति छैन। प्रदेश सरकार गठन, मुख्यमन्त्री र मन्त्रीहरूको टुङ्गो लगाउने तथा आगामी रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित थियो।”
एमालेसँग भएको तीनबुँदे सहमतिप्रति असन्तुष्ट रहेको चर्चा भइरहेका बेला माधव नेपालले आइतबार आफूनिकट केही नेतासँग छुट्टै छलफल गरेका थिए। प्रचण्डले शनिबार एमालेसँग प्रदेश सरकार सञ्चालनसम्बन्धी तीनबुँदे सहमति गरेका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित