
काठमाडौं, साउन १५ । खाना पकाउने एलपी ग्यासको पूर्ण भरिएको १४ दशमलव २ किलोको सिलिन्डर वितरण पुनः सुरु भएपछि काठमाडौं उपत्यकासहित केही स्थानमा ग्यास लिन उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।
व्यवसायीका अनुसार ग्यास आयातमा कमी नभए पनि पूर्ण सिलिन्डर वितरण सुरु भएसँगै उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भर्न र घरमै राख्न थालेपछि माग एक्कासि बढेको हो । यसले वितरण प्रणालीमा चाप बढाएको उनीहरूको भनाइ छ ।
नेपाल एलपी ग्यास उद्योग संघले नीति परिवर्तनअघि पर्याप्त तयारी र बजार व्यवस्थापन हुन नसक्दा अहिलेको अवस्था आएको जनाएको छ । सामान्य अवस्थामा मासिक ४५–४६ हजार टन खपत हुने ग्यास अहिले ४८–४९ हजार टन पुगेको उद्योगीहरूको दाबी छ ।
यता, नेपाल आयल निगमले भने देशभर ग्यासको अभाव नभएको जनाएको छ । निगमका अनुसार केही स्थानमा मात्र अस्थायी चाप देखिएको हो र आपूर्ति बढाएर दैनिक थप ग्यास बजारमा पठाइएको छ । अत्यावश्यक उपभोक्तालाई प्राथमिकता दिएर वितरण गर्न विक्रेतालाई निर्देशन पनि दिइएको निगमले जनाएको छ ।
सरकारको नीति परिवर्तनपछि बजारमा पर्ने प्रभावको पर्याप्त पूर्वतयारी नहुनु, वितरण व्यवस्थापनमा चुनौती देखिनु र उपभोक्ताले त्रासका कारण आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्नु अहिले देखिएको ग्यास चापका प्रमुख कारण मानिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित